बसको ठक्करबाट पौराईका राई दाम्पत्यको मृत्यु

रौतहट, ११ चैत । रौतहटमा सवारी दुर्घटनामा परी एक दाम्पतिको मृत्यु भएको छ । रौतहटको बगमती स्थित चन्द्रनिगाहपुर-बागमती सडक खण्डको पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट एक साइकलमा सवार रहेका दाम्पत्यको मृत्यु भएको हो ।
बसको ठक्करबाट चन्द्रपुर वडा नं-१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
पश्चिमबाट सर्लाहीतर्फ जाँदै गरेको मे १ ख २५३६ नम्बरको बसले साइकल चढेर पूर्व जाँदै गरेको राई दाम्पतीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट टाउकोमा गम्भीर चोट लागेका राई दाम्पतीलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पताल पुर्‍याइएको थियो । अस्पतालले दुबैलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरीका डिएसपी गौरब महत र ट्राफिक प्रहरी निरिक्षक शुसिल आचार्य सहितको टोली पुगेर बस चालक बारा कोल्बीका धनबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । मृतक परिवारले घटनास्थलबाट प्रहरीले शव उठाएको भन्दै प्रतिवाद गरेर पूर्वपश्चिम राजमार्गमा चक्का जाम गरेका छन् । चक्काजाम गरेपछि सवारी साधनको आवत जावत अवरुद्ध भएका हुन् । प्रहरीले चक्काजाम खुलाउने प्रयास गरिरहेको छ ।

ताजा समाचार

Related Articles