चन्द्रपुर,२० फागुन । सहकारी ऐन, कर तथा कानुन सम्बन्धी रौतहटमा दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
रौतहट बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा आर एण्ड डि कर्पोरेट बिजेनेस कन्सल्टिङ प्रा.लिको प्राविधिक सहयोगमा सो दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
पछिल्लो समय देशभरका विभिन्न सहकारीमा बढ्दै गएको व्यथिति र खराब कर्जाका कारण सहकारीहरू मारमा पर्दै जानु र बचतकर्ताको समेत बचत जफत हुने गरेको कुरा मध्यनजर गर्दै यो अभिमुखीकरण कार्यक्रम गरिएको रौतहट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष भिबु पोखरेलले जानकारी दिए ।
कार्यक्रमका अध्यक्षता समेत गरिरहनुभएका अध्यक्ष पोखरेलले सहकारीहरूलाई समयमै कर तिर्नसमेत आग्रह गरेका हुन् ।
उनले रौतहटको १८ वटै पालिकामा रहेको सहकारी संस्थालाई सक्रिय बनाउने बताए ।
सोही कार्यक्रममा बोल्नुहुँदै रौतहट बचत तथा ऋण सहकारी संस्थाका वरिष्ठ सल्लाहकार ठाकुरप्रसाद उपाध्यायले सहकारी एक सेवा हो, सहकारीलाई उहाँले कमाउन भाँडो नबनाउन आग्रह गरे । ऋण लगानी गर्दा सहकारी ऐन २०७४ अध्ययन गरेर मात्र ऋण लगानी गर्न उनले आग्रह गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका सहकारी शाखाका प्रमुख नसरे आलमले चन्द्रपुर नगर क्षेत्रभित्रका सहकारीहरूलाई नगरपालिकाले विभिन्न किसिमका कार्यक्रम तथा तालिमहरू ल्याएर उत्पीडित गर्ने जिकिर गरे ।
यस्तै चन्द्रपुर नगरपालिकाले यसै आर्थिक वर्षमा सहकारीहरूको लागि विभिन्न कार्यक्रम समेत राखेको उनले बताए ।
कार्यक्रममा बोल्दै नव विकास बचत तथा ऋण सहकारी संस्थाका सचिव तथा कार्यक्रमका अतिथि राजेन्द्र तिवारीले सहकारीले समयमै कर तिर्नुपर्ने बताएका छन् । कमाएको रकमबाट कर समयमै तिर्न उनले आग्रह समेत गरे ।
यस्तै राष्ट्रिय सहकारी बैंक चन्द्रपुर शाखाका प्रमुख रुपा थापाले सहकारीलाई हरबखत सहकारी बैंक सहयोग गर्न तयार रहेको बताइन् ।
दुई दिने अभिमुखीकरण कार्यक्रममा रौतहटका करिब २५ वटा सहकारीहरूको सहभागिता रहेको थियो ।
सहकारी ऐन कर तथा कानुनसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रमको सहजकर्ता सीए धीरज कोइराला रहेको थियो भने कार्यक्रम चन्द्रोदय सहकारी संस्थाका अध्यक्ष बसन्त आचार्यले सञ्चालन गरेका थिए । कार्यक्रममा सहभागी सबैजनालाई प्रमाणपत्र वितरण गरिएको छ ।

