रौतहट , १७ फागुन । दूध बेचेको पैसा नपाएपछि रौतहटका किसानहरु आन्दोलित बनेका छन् । दूध बेचेको सात महिनासम्म भुक्तानी नपाएपछि बिहीबार रौतहटका किसानहरु पूर्वपश्चिम महेन्द्र राजमार्गमा चक्काजाम गरेर विरोध प्रदर्शन गरेका हुन् ।दुध उत्पादक किसानहरुले रौतहटको चन्द्रनिगाहपुरमा आज दुई घण्टा चक्काजाम गरेका छन् ।नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको गत भदौको दोश्रो सातायता फागुन १५ गते सम्मको कुल साढे साढे ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । यस्तै विभिन्न निजी डेरीहरुले रौतहटका किसानबाट लगेको दूधको ३ करोड रुपैयाँ दिएका छैनन् ।दूधको पैसा समयमा पाएपछि रौतहटका दूध उत्पादक किसानहरूले आन्दोलित बनेका हुन् ।किसानहरूले बिहिबार गरेको चक्काजामका कारण पूर्वपश्चिम राजमार्गमा चल्ने यात्रुवाहक तथा मालवाहक सवारी साधन मर्कामा परेका थिए । उनीहरू दुई घण्टासम्म सवारी साधन रोकेर अलपत्र अवस्थामा बस्नुपरेको थियो ।दुग्ध उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार रौतहटका दूध उत्पादक किसानहरुले गत फागुन १४ गते जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका थिए ।तर, सुनुवाइ नभएपछि दूध उत्पादक किसानहरुले आज पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुरमा २ घण्टा चक्काजाम गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताए ।यती गर्दा पनि सुनुवाइ नभए देशभरका दूध उत्पादक किसानहरूले २१ गते काठमाडौँ स्थित माइतीघर मण्डलामा सरकारको विरुद्ध प्रदर्शन गर्ने तयारी समेत रहेको अध्यक्ष अधिकारीले बताएका छन् ।रौतहटमा उत्पादन भएको दूध हेटौंडास्थित नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसी र विभिन्न निजी डेरीले लाने गरेका छन् ।दूध बेचेको पैसा समयमा डेरीहरुले भुक्तानी नगरेका कारण रौतहटमा दूध उत्पादनमा सक्रिय किसानले पशुलाई दाना खुवाउने पैसा समेत नभएको गुनासो किसानको रहेको छ ।विगत ७ महिनादेखि दूध विक्री गरेको पैसा नपाएपछि व्यावसायिक रुपमा पशुपालनमा लागेका किसानलाई घर चलाउन समस्या भएपछि उनीहरूले आन्दोलन गर्न बाध्य भएको किसानहरूको भनाइ रहेको छ ।

