रौतहट, १७ माघ । पछिल्लो तीन हप्तादेखि रौतहटसँगै तराईमा जाडो बढ्दै गएको बेलामा गरिब दलित परिवारलाई समस्स्यामाथि समस्या थप्दै गएको छ । अहिले माघको महिनामा जाडो केही घट्ने अनुमान गरिए पनि झनै बढ्दै गएपछि खासगरी गरिब, दलित परिवारलाई समस्या भएको हो ।
उनीहरुकोे आर्थिक अवस्था कमजोर हुनुले पर्याप्त कपडाको अभावमा जाडोमा कठ्याँिग्रएर बस्नुपर्ने बाध्यता छ । यस्तो बढ्दो जाडोमा गरिब दलितलाई दैनिक काम गरेर गुजारा चलाउनमा पनि समस्या भएको छ । काम पनि नपाइने हुँदा यस्तो बेलामा उनीहरु बढी मर्कामा छन् ।
स्थानीय सरकार जनप्रतिनिधि वा राजनीतिक दलका नेता कसैले पनि राहत दिएका छैनन् । बढ्दो चिसोसँगै शीतलहर चल्न थालेपछि रौतहटसहित तराईका जिल्लामा गरिब दलित परिवारको बिजोग भएकोमा स्थानीय सरकारले अहिलेसम्म न्यानो कम्बल वा राहत वितरण नगरेको मानव अधिकारकर्मी तथा प्रेस चौतारीका केन्द्रीय सदस्य रमेश तिमल्सिनाले बताए ।
चुनावको बेलामा बिभिन्न किसिमका सामान बाँडेर गबिरब दलित बस्तीमा छिर्ने गरेका नेता तथा जनप्रतिनिधीहरु जाडोको बेलामा एउटा कम्बल पनि दिन बस्तीमा पुग्न नसकेको तिमल्सिनाको भनाइ रहेको छ ।
जाडोको बेलामा स्थानीय गरिब दलितलाई सबै भन्दा बढी स्थानीय सरकारले नै सहयोग गर्नुपर्ने हो । तर, रौतहटमा स्थानीय तहहरु जनता भन्दा पनि कमिशनको मोहमा फसेको कारण अत्याधिक जाडो भएपनि बजेटमा गरिब दलितको लागि राहतको ब्यावस्था नगरेकोे उनले बताए ।

