रौतहटका दूध उत्पादक किसानले पाएन ८ करोड बक्यौता

रौतहट, १६ माघ । रौतहटका दुध उत्पादक किसानहरुले आफूले बेचेको दुधको पैसा नपाएको गुनासो गरेका छन् । सरकारी स्वामित्वको डिडिसीले किनेको दूधको पैसासमेत किसानले नपाएपछि रौतहटका किसान मारमा परेका हुन् । आफूले बेचेको दूधको पैसा समयमा नपाएपछि रौतहटका किसानहरु समस्यामा परेका छन् ।

रौतहटका विभिन्न सहकारी तथा डेरी मार्फत खरिद गरेर लगिएको दूधको पैसा सरकारी स्वामित्वको डिडिसी र विभिन्न निजी डेरीहरुले पाँच महिनादेखि नदिएको रौतहटका डेरी सञ्चालकहरुले गुनासो गरेका छन् । सरकारी स्वामित्वको डिडिसीले पाँच महिनाको ५ करोड र विभिन्न निजी डेरीहरुले पाँच महिनादेखि ३ करोड रुपैयाँको दूध संकलनकर्ताहरुलाई नदिएका कारण किसानको हातमा पाँच महिनादेखि पैसा नपुगेको हो ।

किसानले उत्पादन गरेको दुध विभिन्न सहकारीहरूमा किसानले बेच्ने र सहकारीहरुले सरकारी स्वामित्वको डिडिसी र विभिन्न निजी डेरीहरुलाई दुध दिँदै आएका छन् । डिडिसी र डेरी सञ्चालकहरुले पाँच महिनादेखि दूध सङ्कलन गर्ने सहकारीहरुलाई समयमा पैसा नदिएका कारण किसानहरू मारमा परेका हुन् । रौतहट जिल्लामा दैनिक ३० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । पाँच महिनादेखि दुध बेचेको पैसा नपाउँदा किसानहरू समस्यामा परेको रौतहट जिल्ला दुध उत्पादक संघका अध्यक्ष श्रीकृष्ण अधिकारीको भनाइ रहेको छ । समयमा दूधको पैसा किसानले नपाउँदा किसानहरूलाई पशुलाई दाना लगायतका वस्तु खुवाउन समस्या भएको अध्यक्ष अधिकारीको गुनासो रहेको छ ।
आफूहरुले किसानसँग सङ्कलन गरेको दूध हेटौडामा रहेको सरकारी स्वामित्वको डिडिसी र विभिन्न निजी डेरीहरूलाई दिएको र उनीहरूले समयमा पैसा नदिएका कारण आफूहरुले पनि पाँच महिनादेखि किसानलाई दूधको पैसा दिन नसकेको साना किसान कृषि सहकारी संस्था सन्तपुरका अध्यक्ष ध्रुव कोइरालाको भनाइ रहेको छ ।

रौतहट जिल्लाका विभिन्न स्थानमा सङ्कलन गरिने दुध जिल्लाको गरुडामा रहेको चिस्यान केन्द्र र चन्द्रनिगापुरमा रहेको चिस्यान केन्द्रबाट नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसी र विभिन्न निजी डेरीहरूले लाने गरेका छन् ।

विगत केही महिनादेखि आफूहरुले बेचेको दूधको पैसा समयमा नपाएको चन्द्रपुर ५ का पशुपालक किसान नारायण विश्वकर्माको भनाइ रहेको छ । पशुपालक किसान विश्वकर्मा जस्ता सयौ किसानहरुले आफूले बेचेको दूधको पैसा समयमा नपाएका कारण विभिन्न समस्या झेल्दै आएको गुनासो गरेका छन् ।

किसानले बेचेको दुधको पैसा लिनका लागि पनि अब आन्दोलन गर्नुपर्ने अवस्था आएको रौतहट जिल्ला दुध उत्पादक संघका अध्यक्ष श्रीकृष्ण अधिकारीको भनाइ रहेको छ ।

ताजा समाचार

Related Articles