जनकपुर,१३ माघ । मधेश प्रदेश सरकारले प्रदेश सभामा विश्वासको मत लिने भएको छ । सरकारमा सहभागी रहेको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि सरकारले विश्वासको मत लिने तयारी गरेको छ ।
जनमत पार्टीको मधेश प्रदेशमा १३ जना सभासद छन् । प्रदेश सरकार गठन भएदेखि नै सरकारमा रहेको जनमत पार्टीले गत मंगलबार सरकारबाट बाहिरिएर समर्थन पनि फिर्ता लिएको छ । मधेश प्रदेशमा सरकारलाई बहुमत सिद्ध गर्न समस्या छैन् ।
जनता समाजवादी पार्टी९जसपा० संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा रहेको सरकारलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा०र स्वतन्त्र सभासदहरुले समर्थन गरेका छन् । मधेश कृषि विश्वविद्यालयको सप्तरीमा भवन शिलान्यासको क्रममा जसपा र जनमत पार्टीबीच विवाद भएको थियो ।
मधेश प्रदेश सरकारको स्वामित्वमा रहेको विश्वविद्यालयको कुलपति रहेका मुख्यमन्त्री सरोज कुमार यादवले भवनको शिलान्यासको प्रमुख अतिथि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बनाएको विरोधमा उत्रेको जनमत पार्टी अन्ततःसरकारबाट नै बाहिरियो । जनमत पार्टीबाट मधेश प्रदेश सरकारमा शिक्षा तथा संस्कृति मन्त्री रहेका महेश प्रसाद यादव विश्वविद्यालयको सहकुलपति रहेका थिए । जनमत पार्टीका अध्यक्ष डा।सी के राउतले भवन शिलान्यास गर्ने अडान लिएपछि विवाद चर्किएको थियो ।
जनमत पार्टीका नेता, कार्यकर्ताहरुले शिलान्यास अगावै विश्वविद्यालयको प्रशासनिक भवनमा लगाएको ताल्चा अझै खुलेको छैन् । उनीहरु जनमत पार्टीका अध्यक्ष सो क्षेत्रबाट प्रतिनिधि सभासदस्य रहेकाले शिलान्यास गर्न पाउनुपर्ने तर्क राख्दै विरोधमा उत्रेका थिए । सरकारमा रहे पनि जसपा र जनमत पार्टीबीचको सम्बन्ध मधुर थिएन् ।

