काठमाडौँ, २७ पुस । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई सिध्याउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
अध्यक्ष नेपालले आफ्नो पार्टी र पार्टी सामेल भएको गठबन्धनलाई ओलीले सिध्याउन खोजिरहेको आरोप लगाउँदै त्यस्ता षड्यन्त्रलाई साथ दिनेहरु क्रान्तिकारी हुनै नसक्ने दावी गरे।
पार्टीनिकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन ९समाजवादी० ले शुक्रवार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनको भर परेर अघि नबढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
आफ्नै शक्ति बलियो बनाउने र एक्लै चुनाव जित्ने आँटका साथ पार्टी अघि बढ्नुपर्ने भनाइ अध्यक्ष नेपालको थियो। उनले अरु पार्टीको सामु माग्ने भएर नभई दिने हैसियतको पार्टी बनाउनुपर्ने भएकाले त्यसका लागि सिंगो पार्टी पंक्ति परिचालित हुन पनि सचेत गराए।
अध्यक्ष नेपालले भने, ‘हामीले देखिरहेका छौँ–हाम्रो पार्टीलाई यही पहिले रहेका पार्टीका नेताले यो पार्टीलाई सिध्याउन खोजिरहेका छन्। हामी सामेल भएको गठबन्धनलाई ध्वस्त बनाउन खोजिरहेका छन्। तिनको षड्यन्त्र सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्छ‚ कदापी हुन सक्दैन‚’ उनले भने‚ ‘आफ्नै शक्ति बलियो बनाउनु पर्छ। गठबन्धनमाथि पनि भरोसा गरेर र उनीहरुले चुनावमा जिताइदेलान् भन्ने ठानेर चल्ने होइन। आफ्नो शक्तिको आधारमा संगठन विस्तार गरेर चुनावमा एक्लै जित्ने आँट गरेर चल्ने हो। अरुले हामीसँग मागुन् कि हामीलाई दिनुस्‚ हामीले माग्न जाने होइन।’
अध्यक्ष नेपालले प्रतिगामी शक्तिहरुले चलखेल गरिरहेको जिकिर गर्दै त्यसविरुद्ध पनि जुध्नुपर्ने वेला आएको बताए।

