रौतहट, २० पुस । सडक विभाग र स्थानीयबीच सहमतीपछि तीन दिनदेखि अवरुद्ध चन्द्रनिगाहपुर–गौर सडकखण्डको चक्काजाम खुलेको छ ।
सडक विभागले शनिबारदेखि बागमती नदीमा पुल निर्माण सुचारु गराउने प्रतिबद्धतासँगै गौर–चन्द्रपुर सडक खण्डको बम नहरमा अवरुद्ध सडक शुक्रबार दिउँसो १ बजेबाट सुचारु भएको हो ।
प्रदेश सांसद नागेन्द्र साहको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि दुर्गा भगवती, यमुनामाई, राजपुरका स्थानीयहरू गौर–चन्द्रपुर सडकखण्डको बम नहरको बाटो अवरुद्ध गरी धर्नामा बसेका थिए । सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालको अध्यक्षतामा हुलाकी राजमार्ग आयोजना निर्देशनालय, सडक विभाग पुल महाशाखा लगायतका सम्बद्ध सरोकारवाला निकायको प्रमुखहरुको उपस्थितिमा बसेको बैठकले बागमती (बडहर्वा) पुलको निर्माण कार्यको एक्जेस्टिङ स्ट्रक्चर भेरिफिकेशनको कार्य पुस २१ देखि सुरु गरेर ७ दिनभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
यस्तै, पुस १९ गते भएको प्रस्तावित डिजाइन अनुसारको निर्माण कार्य निर्माण व्यवसायीद्वारा अविलम्ब सुरुवात गर्ने, पुलको रिभ्युड डिजाइन ड्रइङ अविलम्व स्वीकृतिका लागि सडक विभागमा पेस गर्ने सहमति भएको थियो । गत बुधबारदेखि १५ दिनभित्र साइटमा निर्माण कार्य नभएमा तथा साइटमा मोविलाइज नभएमा नियमानुसार ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाउने ६ बुँदे निर्णय भएको सडक विभागले जनाएको छ ।
शुक्रबार भएको दुईपक्षीय छलफलका क्रममा विभागको आधिकारिक निर्णयलाई जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभुषण साहले वाचन गरेर सुनाएका थिए ।

