रौतहट, १८ पुस । बागमती नदीमा पुल निर्माणमा ढिलाई भएको भन्दै स्थानियले चन्द्रनिगाहपुर गौर सडक खण्डमा चक्का जाम गरेको छ । पुल बनाउन माग गर्दै बुधबार दिउँसो चन्द्रनिगाहपुर गौर सडक खण्डमा स्थानीयले चक्काजाम गरेको हो । हुलाकी राजमार्ग अन्तर्गत पर्ने बागमतीको बरहवा पुल तत्काल बन्नुपर्ने माग राख्दै स्थानीय बासिन्दाले करिब एक घण्टा चन्द्रनिगापुर गौर सडक खण्डको बम नहरमा सवारी साधन अवरुद्ध गरेर चक्काजाम गरेका हुन् । उनीहरूले दिउँसो डेढ बजेबाट साढे २ बजे सम्म सो स्थानमा चक्काजाम गरेका कारण चन्द्रनिगाहपुर गौर सडक खण्डमा चल्ने सवारी साधनहरु अवरुद्ध भएका थिए । रौतहटको यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका र राजदेवी नगरपालिकाका स्थानीय बासिन्दाले बम नहरमा जम्मा भएर पुल समयमै बन्नुपर्ने माग राख्दै चक्काजाम गरेको रौतहट क्षेत्र नं—१ (क) का प्रदेश सांसद नागेन्द्र प्रसाद साहले बताए । प्रदेश सांसद साहको नेत्रित्वमा स्थानीय बासिन्दाले रोडमै सुतेर चक्काजाम गरेपछि चन्द्रनिगापुर गौर सडक खण्डमा सवारी आवागमन अवरुद्ध भएको थियो ।