रौतहटमा ट्यांकरको ठक्करबाट दुई भारतीय युवकको मृत्यु

चन्द्रनिगाहपुर, १७ पुस । चन्द्रपुर नगरपालिका–५ स्थित पूर्व पश्चिम राजमार्गको चिडियादह चोक नजिक सर्लाही तर्फ जाँदै गरेको ट्यांकरले पूर्वबाट आउँदै गरेको अटोलाई सोमबार राती ठक्कर दिँदा दुई भारतीय युवकको मृत्यु भएको छ ।
भारत बिहार राज्यको सीतामढी बाट अंग्रेजी नयाँ बर्ष मनाउन आएका दुईजना युवकको सवारी दुर्घटनामा परेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा सितामाढी जिल्ला डुमरीका ३५ वर्षिय पिंकु सिंह र सोही गाउँका २२ वर्षिय अवधेश झा रहेको प्रहरीले जनाएको छ । उनीहरूको उपचारको क्रममा गएराती नारायणी अस्पताल बिरगंजमा मृत्यु भएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन् ।
नयाँ बर्षमा पिकनिक मनाएर बागमती  नुनथरबाट चन्द्रनिगाहपुर तर्फ आउँदै गरेको गरेको ज १ ह ४४८५ नम्बरको अटोलाई अम्लेखगञ्जबाट सर्लाही तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख १९२७ नम्बरको तेल बोक्ने ट्यांकरले ठक्कर दिएको थियो ।
दुर्घटनामा टेम्पो चालक सर्लाहीको बागमती नगरपालिका–६ खाल्टे बस्ने ४४ बर्षिय भुपेन्द्र सहनी सहित सबै ६ जना घाईते भएका थिए । गम्भीर घाईते भारतीय नागरिक सिंह र झा लाई चन्द्रपुरमा सामान्य उपचार पछि थप उपचारको लागि नारायणी अस्पताल बिरगंज पठाईएको थियो ।
अटोमा सवार चन्द्रपुर–५ का समिर अन्सारी, गरुडा–६ पोठियाहीका अस्गर देवान र उनका श्रीमती जवाहिर खातुन घाईते भएका थिए । देवानको मुखमा र अन्सारीको घाँटीमा चोट लागेको छ । खातुनको दाहिने हात भाँचिएको प्रहरीले जनाएको छ । घाईतेहरुको चन्द्रपुर अस्पतालमा उपचार भईरहेको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रपुरले ठक्कर दिने ट्यांकर चालक रौहतटको दुर्गा भगवती गाउँपालिका–६ गंगापिपराका २६ वर्षिय प्रविण साहलाई नियन्त्रणमा लिएको छ । 

ताजा समाचार

Related Articles