रौतहटमा भान्जाले माइजुको २० लाख रुपैयाँ लिएर फरार भएपछि…

रौतहट,१६ पुस । रौतहटमा एक जना भान्जाले माइजुको २० लाख रुपैयाँ लिएर फरार भएका छन् । नातामा भान्जा लाग्ने कटहरिया नगरपालिका–१ भसेढवाका मोतिलाल यादवसहित दुई जनाले बैंकबाट आफ्नो नाममा २० लाख रुपैयाँ ऋण निकालेर सम्पर्कविहीन भएका छन् ।
फतुवा विजयपुर नगरपालिका–४ टेङग्राहाका इनरदेव राय यादवकी पत्नी लालसर देवीले भान्जाले आफ्नो २० लाख रुपैयाँ लिएर फरार भएको आरोप लगाएकी छन् । नेपाल बैंक लिमिटेड समनपुर शाखाबाट एक वर्षअघि आफ्ना नाममा २० लाख रुपैयाँ ऋण निकालेर आफूलाई एक रुपैयाँ समेत नदिएको र सम्पर्कविहीन भएको पीडित लालसर देवीले गुनासो गरेकी छन् ।

एक वर्षअघि गाउँघरका साहु महाजनको ऋण तिर्न आफूले बैंकबाट ऋण लिने लालसर देवीले निधो गरिन । घर घडेरी वा जग्गा बेचेर ऋण तिर्नु भन्दा राम्रो कुनै बैंकबाट ऋण निकालेर साहु महाजनको कर्जा चुक्ता गर्दा आफनो घर, घडेरी वा जग्गा बेच्नु नपर्ने भएको हुँदा आफूले बैंकबाट नै ऋण निकालेर साहुको ऋण तिर्ने सोच बनाएको उनले बताइन । तर कुनै पनि बैंकमा आफनो सम्पर्क नरहेकोले ऋण निकालिदिन नातामा भान्जा पर्ने भसेढवाका मोतिलाल यादवलाई आफूले आग्रह गरेको उनले बताइन । त्यसपछि भान्जा यादवले गुजरा नगरपालिकाकाका उमाशंकर तिवारी मार्फत ऋण निकाल्नका लागि आफूलाई नेपाल बैंक लिमिटेडको शाखा कार्यालय समनपुरमा लिएर गएको र सो बैंकबाट २० लाख रुपैयाँ ऋण निकाल्न आफना १३ कठ्ठा जग्गा धितो राख्न लगाएको उनले बताइन ।
यादव र तिवारीले भनेअनुसार २० लाख रुपैयाँ ऋण पाउनका लागि आफूले धितो वापत १३ कठ्ठा जग्गा बैंकको नाममा रजिष्ट्रेसन पास गर्नुको साथै खाता खोल्ने देखि लिएर अन्य बाँकी सबै कागजी प्रक्रिया पुर्याइदिएको उनले बताइन । तर उक्त बैंकबाट यादव र तिवारी दुबै जना मिलेर आफ्नो २० लाख रुपैयाँ ऋण निकालेर आफूलाई थाहा समेत नदिइ ठगी गरेको पीडित लालसरले बताइन् ।
नेपाल बैंक लिमिटेड शाखा कार्यालय समनपुरले उक्त २० लाख रुपैयाँ ऋणको साँवा र ब्याज तिर्न आफना घरमा पत्र पठाएपछि मात्र आफूले आफना नाममा ऋण निकालिएको कुरा बैंकको पत्रबाट थाहा पाएको उनले बताइन । बैंकबाट ऋणको नाममा आफूले एक रुपैयाँ समेत नपाएको र आफनो २० लाख रुपैयाँ यादव र तिवारी दुबै जनाले लिएर आफूमाथि अन्याय गरेको उनले दुखेसो पोखिन । नेपाल बैंकले सो ऋणको साँवा र ब्याज बुझाउन आफूलाई पटक पटक ताकेता गर्ने गरेको उनले बताइन ।
साँवा र ब्याज नबुझाए धितो वापत राखिएको १३ कठ्ठा जग्गा नै लिलाम गरी बिक्री गरिदिने भनी बैंकले जानकारी गराए पछि आफू ठूलो समस्यामा परेको उनले बताइन् । बैंकबाट आफना नाममा निकालिएको २० लाख रुपैयाँ आफूलाई फिर्ता गर्न मोतिलाल र उमाशंकरलाई पटक पटक आग्रह गर्दा पनि ती दुबै जनाले आफ्नो पैसा फिर्ता गर्न आलटाल गर्ने गरेको उनको भनाइ छ । उनीहरुले एकातर्फ आफनो पैसा फिर्ता गर्न मानेका छैनन् भने अर्कोतर्फ ऋणको साँवा र ब्याज नबुझाए बैंकले आफनो जग्गा नै लिलाम गरिदिने भन्ने चिन्ताले पिरोलिएको उनले बताइन ।
कुनै पनि बैंकले कसैलाई ऋण दिँदा सम्बन्धित व्यक्तिलाई खाता मार्फत नै ऋण दिने गरेको छ । तर लालसर देवीको नाममा स्वीकृत भएको २० लाख रुपैयाँ ऋण उनको खाताबाट सिधै ती दुबै जनाले झिकेको हुँदा यसमा कही न कही बैंकका तत्कालीन कर्मचारीको समेत संलग्नता रहेको हुन सक्ने आशंका गरिएको छ । पीडित लालसर देवीले बैंकबाट झिकिएको आफनो उक्त पैसा यादव र तिवारीबाट फिर्ता गराइदिन सम्बन्धित निकायसंग गुहार गरेकी छन् । यता मोतिलाल यादवले यस सम्बन्धमा चितबुझदो जवाफ दिएका छैनन ।
आफूले बैंकबाट ऋण निकाल्न सहजीकरण मात्र गरिदिएको र उनको एक रुपैयाँ पनि नलिएको यादवले जवाफ दिएका छन् । त्यस्तै अर्का व्यक्ति कुखुरा व्यवसायी समेत रहेका उमाशंकर तिवारीले लालसर देवीसंग आफूले कुखुराको दाना खरिद गर्ने सम्झौता गरे बमोजिम उनीसंग दानाको कारोबार मात्र गर्ने गरेको बताए । लालसर देवीले आफूमाथि लगाएको आरोपमा कुनै सत्यता नरहेको तिवारीको भनाइ छ ।

ताजा समाचार

Related Articles