सर्लाही, ५ पुस । सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योग नचल्दा किसानको उखु खेतबारीमै सुक्न थालेको छ।
केही दिनदेखि उखु किसान सम्बद्ध संघ संगठनले मूल्य नतोकी मिल नचलाउन भन्दै चिनी मिल चल्न नदिँदा किसानले काटेको उखु र किसानको बारीमा रहेको उखु सुक्न थालेको हो।
उखुको मूल्य प्रतिक्विन्टल ७ सय ५० रुपैयाँ हुनुपर्ने, सरकारले गत सिजनकै दिन बाँकी अनुदान रकम तुरुन्त भुक्तानी गर्नुपर्ने, उखुको प्रवर्द्धन शब्द हटाई नियमानुसार अनुदान रकम सोही आर्थिक वर्षमा भुक्तानी गर्नुपर्ने, उन्नत जातको उखुको बिउको प्रवन्ध गर्नुपर्ने, कृषियोग्य जमिनमा सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई चाहिने मलको प्रवन्ध गर्नुपर्ने लगायत ६ बुँदे माग राखेर किसानले आन्दोलन गर्दै आइरहेका छन्।
किसान सम्बद्ध संगठनले किसानको हितमा आन्दोलन गरेको भए पनि किसानले काटेको र खेतमा रहेको उखु सुक्न थालेको गुनासो किसानहरुले गरेका छन्।
हरिवन-१ पटौनाका किसान महोमद नसरुल हकको उखु सुक्न थालेको गुनासो गरेका छन्। ‘९ बिगाहामा लगाएको उखु मंसिरमै काट्नुपर्ने थियो, आन्दोलनले मिल नचल्दा समयमै उखु काट्न नपाएपछि उखु सुक्दैगइरहेको छ‚’ उनले निरास हुँदै भने।
अर्का किसान हरिवन-३ का ज्ञानबहादुर पुलामीको पनि उखु सुकेर ढोड जस्तै भएको छ। यस्तै भैरहने हो भने उखुको लागतसमेत नउठ्ने चिन्ता भइरहेको पुलामीको पनि गुनासो छ।
विभिन्न किसान सम्बद्ध संगठनको आन्दोलनका कारण इन्दुशंकर चिनी उद्योग हरिवन उखु क्रसिङ शुरु गर्न पाएको छैन्।
सरकारले बुधवार उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको छ तर मिलगेट उखु उत्पादक समितिका अध्यक्ष राजकुमार उप्रेतीले उखुको मूल्य हचुवाको भरमा तोकेको भन्दै आपत्ति जनाएका छन्।
‘सरकारले के आधारमा मूल्य निर्धारण गरेको हो, लागतको आधारमा हो या चिनीको मूल्यको आधारमारु,’ उनले प्रश्न गरे। उखुको मूल्य निर्धारणले किसानको मागलाई सरकारले केटाकेटीलाई ललिपप देखाएर झुक्याउन खोजेको आरोपसमेत लगाए। यसले किसानलाई थप आन्दोलन गराउन बाध्य बनाएको उनले बताए।
किसान सम्बद्ध संगठनहरुसँग गत मंसिर २१ गते मौखिक सहमतिअनुसार मंसिर २२ गतेदेखि उखु संकलन पुर्जी वितरण गर्ने र २६ गतेदेखि उखु क्रसिङ गर्ने सहमति भएको थियो।

