स्वास्थ्य मन्त्री सिंहले गरे चन्द्रपुर सरकारी अस्पतालको निरीक्षण

चन्द्रपुर, १६ मंसिर । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले चन्द्रपुर सरकारी अस्पतालको निरिक्षण गरेका छन । लाईन्स कल्वको कार्यक्रममा सहभागी हुन चन्द्रपुर आएका मन्त्री सिंहले अस्पतालको समेत निरीक्षण गरेका हुन् । मन्त्री सिंहलाई चन्द्रपुर नगरपालिकाका मेयर संजय काफ्ले तथा चन्द्रपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अभिनन्दन श्रीवास्तव लगायत अस्पतालका कर्मचारीहरुले भव्य स्वागत गरेका थिए ।
चन्द्रपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीवास्तवले अस्पतालको समग्र अवस्थाका बारेमा मन्त्री सिंहलाई जानकारी गराएका थिए । 
अस्पतालले गरेको काम, विस्तार गरेको सेवा, ल्याब, एक्स–रेको अवस्था, कार्य भवनको अभाव तथा कार्य मूल्याङ्कनमा हुँदै गएको प्रगती बारे मन्त्री सिंहलाई उनले जानकारी गराए । 
मन्त्री सिंह समक्ष चन्द्रपुर नगरपालिकाको सहयोगमा अस्पतालले नमुना शव परिक्षण गृह बनाएको जानकारी गराउँदै अस्पतालमा जनशक्ति अभावले समस्या आएको गुनासो मेयर काफ्लेले पोखेका थिए । मेयर काफ्लेले अस्पताल संग रहेको एउटा एम्बुलेन्स पनि पुरानो भईसकेकोले नयाँ एम्बुलेन्सको लागी पहल गरिदिन माग गरे ।
निरीक्षण एवं अवलोकनका क्रममा बिरामीको अत्यधिक चाप तर ठाउँ अभावले अस्तव्यस्त दृश्य र चुलिएको समस्या देखेर स्वास्थ्य मन्त्री सिंहको मन चस्स भएको मन्त्री सिंहले सुनाए ।  मन्त्री सिंहले अस्पतालको सुधारको लागी आफुले जति सक्दो चाडो प्रयास गर्ने बताए । उनले अस्पतालमा जनशक्ती र स्वास्थ्य सामाग्रीको कमि रहेको देखिएकोले समस्याको समाधान गर्ने चासो देखाए ।
यहाँको सहरको यो मुख्य अस्पताल भएकाले गुणस्तरीय सेवाबाट माथि जानुपर्नेमा जोड दिँदै अस्पतालको स्तरोन्नति गर्नुपर्ने र अस्तव्यस्त भने देखिन नहुने औँल्याए।
चन्द्रपुर अस्पतालको संरचना निर्माणदेखि सेवा विस्तारसम्मका लागि गुरुयोजना बनाएर ल्याउन निर्देशन दिँदै मन्त्री सिंहले सोच र योजना ठूलो राखेर अगाडि बढ्दै सबै कर्मचारीले यो मेरो हो भन्ने भावनाले काम गरेमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

ताजा समाचार

Related Articles