रुपेन्द्र पटेल
गौर, १४ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटले सामाजिक सञ्जालमा भ्रामक सूचना, फोटो तथा भिडियो पोस्ट वा सेयर नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
प्रहरील बुधबार प्रेस विज्ञप्ती जारी गर्दै सुनसरी जिल्लामा भएको घटनासँग सम्बन्धित भनी रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अगाडि रहेको सवारी साधनको पुरानो फोटो तथा भिडियो सामाजिक सञ्जालमा भ्रामक रुपमा प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिअनुसार सामाजिक सञ्जालमा प्रचार गरिएका ती फोटो तथा भिडियो सुनसरी घटनाका नभई जेनजी आन्दोलनका क्रममा रौतहटमा खिचिएका सामग्री हुन् । ती सामग्रीलाई फरक घटनासँग जोडेर प्रचार गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुनुका साथै जिल्लाको शान्ति–सुरक्षा र सामाजिक सद्भावमा प्रतिकूल असर पर्न सक्ने प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयले कुनै पनि सूचना, फोटो वा भिडियो सार्वजनिक गर्नुअघि त्यसको सत्यता पुष्टि गर्न आग्रह गरेको छ। पुष्टि नभएका सामग्री सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न अनुरोध गर्दै यस्ता कार्यले साइबर अपराध ऐन, २०६३ तथा मुलुकी अपराध संहिता, २०७४ बमोजिम कानुनी दायित्व सिर्जना हुन सक्ने चेतावनी पनि दिएको छ ।
प्रहरीले सामाजिक सञ्जाल प्रयोगकर्तालाई जिम्मेवार र संयमित बन्न आग्रह गर्दै अफवाह फैलाउने, भ्रम सिर्जना गर्ने तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिमा संलग्न पाइए कानुनबमोजिम कारबाही गरिने स्पष्ट गरेको छ ।

