सांसद गणेश पौडेलमाथि अमानवीय व्यवहार गर्ने दुई जना पक्राउ

 गौर, १४ साउन । रौतहटका क्षेत्र नं–४ का प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मोसो प्रहार गरी अमानवीय व्यवहार गरेको घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गत साउन ७ गते दिउँसो करिब १२ बजे गढीमाई नगरपालिका–७ स्थित मठ मन्दिर नजिक सांसद पौडेलले जनतासँग गुनासो सुनुवाइ गरिरहेका बेला केही व्यक्तिले ‘मधेश मुक्ति अभियान’ सम्बन्धी नारा र पर्चा प्रदर्शन गर्दै पछाडिबाट कालो मोसो प्रहार गरेका थिए ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय गरुडाको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आरोपमा गढीमाई नगरपालिका–३ घर भई हाल वडा नं. ७ धनाडी बस्ने २० वर्षीय शेख इर्फान र गढीमाई नगरपालिका–३ गाहेरिया बस्ने १९ वर्षीय इर्फान अन्सारीलाई बुधबार पक्राउ जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध अपमानजनक तथा अमानवीय व्यवहार गर्न नहुने कसुरमा रौतहट जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।
उहाँले घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्यसमेत तीव्र रूपमा अघि बढाइएको जानकारी दिनुभयो ।
सांसद पौडेलमाथि भएको कालो मोसो प्रहारको घटनापछि विभिन्न राजनीतिक तथा सामाजिक वृत्तबाट उक्त घटनाको आलोचना हुँदै दोषीमाथि कानुनी कारबाहीको माग उठेको थियो ।

ताजा समाचार

Related Articles