आज श्रीपञ्चमी : देशभर सरस्वती पूजा तथा अक्षरारम्भ

रौतहट ९ माघ
माघ शुक्ल पञ्चमीका अवसरमा रौतहट सहित आज देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–आराधना श्रद्धापूर्वक सम्पन्न भइरहेको छ । ‘वसन्त पञ्चमी’का नामले पनि चिनिने आजको दिन विद्या, बुद्धि र सृजनात्मक क्षमतामा वृद्धि हुने धार्मिक विश्वास रहिआएको छ । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनको उल्लेख्य उपस्थिति देखिएको छ । विशेषगरी विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार र पत्रकारहरूले आफ्ना अध्ययन–साधन तथा कला उपकरणहरूलाई देवी सरस्वतीको प्रतीक मानेर पूजा गर्ने परम्परा छ । यसै दिन विद्यालय नपठाइएका साना बालबालिकालाई अक्षरारम्भ गराउने चलन रहेको छ । आज लेखपढ सुरु गराएमा राम्रो विद्या प्राप्त हुने जनविश्वासका कारण धेरै परिवारले आफ्ना बालबालिकालाई पहिलो पटक अक्षर चिनाउने गर्छन् । साथै, बालबालिकाको नाक–कान छेड्ने परम्परा पनि आजकै दिन गरिन्छ । चन्द्रमाजस्तै गोरो वर्ण, हातमा वीणा र पुस्तक धारण गरेकी देवी सरस्वतीलाई भारती, शारदा, वागीश्वरी, हंशवाहिनी, वरदायिनी, बुद्धिदात्री लगायत विभिन्न नामले पूजा गरिन्छ । ऋग्वेदमा वाग्देवीका रूपमा उल्लेख भएकी सरस्वती ब्रह्माकी अर्धाङ्गिनी मानिन्छिन् । धार्मिक ग्रन्थहरूअनुसार आज सरस्वतीको पूजा गरी विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने विश्वास छ । यही कारण आज विवाह, व्रतबन्ध, बेलविवाह, गुफा राख्ने जस्ता सामाजिक–धार्मिक कार्यका लागि साइत हेर्नु नपर्ने मान्यता रहँदै आएको छ । तर यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकर्म भने स्थगित गरिएको जनाइएको छ । वसन्त ऋतुको आगमन तथा सूर्य उत्तरायण हुने विश्वासका साथ आजको दिनलाई वसन्त पञ्चमी भनिन्छ। यस अवसरमा हनुमानढोका दरबारस्थित नासल चोकमा राष्ट्राध्यक्षबाट ‘वसन्त श्रवण’ गर्ने परम्परा पनि कायम छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान १० बजेर २७ मिनेटको शुभसाइतमा राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गर्ने कार्यक्रम तय गरिएको छ । वसन्त श्रवण कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, संघीय तथा प्रदेश तहका जनप्रतिनिधि र संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहने हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । कार्यक्रमका लागि सबै तयारी पूरा भइसकेको जनाइएको छ । सरस्वती पूजाका अवसरमा सरस्वतीलाई अर्पण गरिएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि प्रखर हुने धार्मिक मान्यता पनि रहिआएको छ ।

ताजा समाचार

Related Articles