रौतहट ९ पुस
रौतहटको परोहा नगरपालिका वडा नं. ६ बसन्तपट्टी क्षेत्रमा भारतबाट आएका केही रोहिंग्या व्यक्तिहरू विगत केही दिनदेखि बसोबास गरिरहेको आशंकापछि स्थानीयस्तरमा चासो र चिन्ता बढेको छ। स्थानीयवासीहरूका अनुसार कुनै आधिकारिक कागजात वा पहिचानबिना बाहिरबाट आएका ती व्यक्तिहरू खुला सीमा नाका प्रयोग गरी नेपाल प्रवेश गरेको हुन सक्ने आशंका गरिएको छ। यसले सीमा सुरक्षा, स्थानीय शान्ति–सुरक्षा तथा सामाजिक व्यवस्थापनमा चुनौती सिर्जना गर्न सक्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। स्थानीयवासीहरूले अवैध रूपमा सीमा पार गरी आएका व्यक्तिहरूको वास्तविक पहिचान, नेपाल प्रवेशको उद्देश्य र बसोबासको अवस्थाबारे तत्काल छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार यस्तो विषयलाई समयमै गम्भीर रूपमा नलिइए भविष्यमा सुरक्षा तथा सामाजिक समस्या उत्पन्न हुन सक्ने खतरा रहन्छ। मानवीय आधारमा यदि ती व्यक्तिहरू अस्थायी रूपमा आश्रय खोज्दै आएको अवस्था भए पनि त्यसको व्यवस्थापन कानुनी प्रक्रिया र सरकारी संयन्त्रमार्फत पारदर्शी रूपमा हुनुपर्ने स्थानीयको भनाइ छ। अनियन्त्रित र अव्यवस्थित बसोबासले स्थानीय जनजीवनमा नकारात्मक असर पर्न सक्ने उनीहरूले बताएका छन् । यस विषयमा जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा परोहा नगरपालिकाका जनप्रतिनिधिहरूले यथाशीघ्र स्थलगत अनुगमन गरी आवश्यक निर्णय र कदम चाल्ने अपेक्षा गरिएको छ।
Write to Upendra Gole Tamang

