काठमाडौं,२४ फागुन । चौधरीसँग कांग्रेस नेताहरू संवादमा थिए । सभापति देउवाले आफैँले टेलिफोन सम्पर्क गरेर ती दललाई निवासमै संवादका लागि बोलाएका थिए । छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री थापा, प्रमुख सचेतक लेखक र नेता शेखर कोइराला सहभागी थिए ।
जनमतका अध्यक्ष राउतका अनुसार समावेशी लोकतान्त्रिक शक्ति बनाउने विषयमा छलफल केन्द्रित थियो । गठबन्धन टुटेसँगै सैद्धान्तिक रूपमा ध्रुवीकरण देखिएको र लोकतान्त्रिक शक्तिलाई समेटेर लाने विषयमा छलफल भएको उनले बताए । ‘गठबन्धन टुटेसँगै देशमा सैद्धान्तिक रूपमा ध्रुवीकरण देखिएको छ । वामपन्थीहरूको ध्रुवीकरण देखिएकाले केही एजेन्डा फरक भए तापनि राप्रपालाई पनि रिझाएर बन्न सकिन्छ कि भन्ने छ । लोकतन्त्र जोगाउन लोकतन्त्रप्रति आस्था राख्ने सबै शक्ति समेटेर लाने विषयमा छलफल भएको छ । यसमा अरू दललाई पनि समेटेर जाने भनेका छौँ । सरकारले विश्वासको मत लिँदासम्म कस्तो रूपमा अगाडि बढ्छ, हेरेर निर्णयमा पुग्छौँ,’ राउतले भने ।
बैठकमा देउवाले लोकतान्त्रिक शक्ति मिलेर सरकार गठनको पहलका लागि प्रस्ताव गरेका थिए । देउवाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत आर्जन गर्न नसक्ने अवस्था आउने जिकिर गरेका थिए । ‘प्रधानमन्त्रीबाट धोका भयो । उहाँले विश्वासको मत आर्जन गर्न सक्नुहुन्न । राजनीतिक स्थिरताका लागि हामी एक ठाउँमा उभिनुको विकल्प छैन,’ छलफलमा देउवाले राखेको प्रस्तावबारे राउतले भने, ‘सैद्धान्तिक रूपमा ध्रुवीकरण भएको हुनाले लोकतन्त्रप्रति आस्था राख्ने सबै शक्ति मिलेर जानुपर्ने देखियो । अरू शक्तिलाई पनि यसमा समावेश गरेर सरकार बनाउने बाटोमा जाऔँ ।’
लोसपा नेता डा. सुरेन्द्र झाले कांग्रेससँगको छलफलमा पुराना गठबन्धनका घटकलाई समेत समेटेर नयाँ शक्ति बनाउनेबारे छलफल भएको बताए । ‘हामी निर्वाचनमा सँगै थियौँ । निर्वाचनलगत्तै एमालेसँग मिलेर पुरानो गठबन्धन ब्युँताउँदा पनि हामीले प्रचण्डजीलाई सहयोग गरेका हौँ । तर, उहाँले अप्रत्याशित रूपमा गठबन्धन तोड्नुभयो,’ उनले भने, ‘जे जति कारण देखाइएको छ, त्यसमा सत्यता छैन । हामी एकैठाउँमा बसेर काम गर्ने वातावरण बनाउनुपर्छ भनेर बैठक बोलाइएको थियो । प्रधानमन्त्रीले पनि बोलाउनुभएको छ, देउवाजीसँग पनि छलफल चलेको छ । हामी छलफलमा नै छौँ । कांग्रेसको मुभपछि सरकारमा जाने निर्णय गरिसकेको जसपासमेत अनिर्णीत छ ।