रौतहटमा तीन घरमा चोरी, अनुसन्धानको क्रममा कटुवा पेस्तोल बरामद

    रुपेन्द्र पटेल
रौतहट, २ असोज । रौतहटको गरुडा नगरपालिका–७ भिमडावरमा तीनवटा घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक थान लोडेड कटुवा पेस्तोल बरामद गरेको छ ।
भिमडावरमा शुक्रबार बिहान तीनवटा घरमा चोरी भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षकको कमान्डमा टोली परिचालन गरी अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले दयाराम साहको घरबाट एक थान लाइभ राउन्डसहित लोडेड कटुवा पेस्तोल बरामद गरेको हो ।
प्रहरीका अनुसार भिमडावरका दयाराम साहको एकतल्ले पक्की घरको पछाडिको ढोकामा लगाइएको आग्लो भाँचेर घरभित्र प्रवेश गरी रेडमी, ओपो र रियलमी कम्पनीका तीन थान मोबाइल चोरी भएको थियो । घटना शुक्रबार बिहान करिब साढे ९ बजे भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
त्यसैगरी, सोही स्थानका मनोज साहको एकतल्ले पक्की घरमा छतको ढोकाबाट प्रवेश गरी कोठाको आग्लो साइडबाट निकालेर दराजमा राखिएको पर्सबाट करिब पाँच हजार रुपैयाँ नगद चोरी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
यस्तै, रामाज्ञा साहको एकतल्ले पक्की घरको माथिल्लो ढोकाबाट घरभित्र प्रवेश गरी कोठामा रहेको टिनको बाकसभित्र राखिएको पर्सबाट आठ हजार रुपैयाँ नगद र भिभो कम्पनीको एक थान मोबाइल चोरी भएको प्रहरीले जनाएको छ ।
तीनवटै घरमा चोरी भएको जानकारी प्राप्त भएपछि प्रहरीले घटनास्थल तथा आसपासका क्षेत्रमा अनुसन्धान अघि बढाएको थियो । सोही क्रममा दयाराम साहको खपडाको छानो भएको भुईँघरको बरण्डामा रहेको खाटबाट एक थान कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । पेस्तोलमा एक राउन्ड गोली लोड भएको अवस्थामा बरामद गरिएको थियो ।
बरामद भएको पेस्तोल र गोली आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।
चोरीमा संलग्न व्यक्ति तथा बरामद हतियारको सम्बन्धबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका घटनासँगै हतियार घरमा कसरी पुगेको हो भन्ने विषयलाई समेत अनुसन्धानको दायरामा राखेको छ ।

ताजा समाचार

Related Articles