रुपेन्द्र पटेल
रौतहट, २ असोज । रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको नेपाली रकमसहित दुई जना पक्राउ परेका छन् ।
गौर नगरपालिका–१ स्थित गौर भन्सार कार्यालय अगाडि शुक्रबार दिउँसो चेकजाँचका क्रममा स्रोत नखुलेको दुई लाख ५४ हजार रुपैयाँ नगद, चाँदीजस्तो देखिने पायल दुई थान र दुई थान मोबाइलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०६ एआर ०८०२ नम्बरको मोटरसाइकलमा सवार माधवनारायण नगरपालिका–७ लौकाहा बस्ने २६ वर्षीय सञ्जीव पण्डित र सोही स्थानका १८ वर्षीय रितिक दासलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
भन्सार सुरक्षा गार्डका प्रहरी सहायक निरीक्षक दीपककुमार यादवको कमाण्डमा तीन जना तथा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय गौरका सशस्त्र प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद भट्टको कमाण्डमा सात जनाको संयुक्त चेकिङ टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।
नगद, पायल, मोबाइल र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।

