रौतहट ८ असाेज
रौतहटको माधवनारायण नगरपालिकामा कार्यरत कर्मचारी कृष्ण नन्दन यादवविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले यादवविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरेको जनाएको छ।
आयोगका अनुसार यादवले सरकारी सेवामा प्रवेश गर्ने क्रममा आफ्नो शैक्षिक योग्यता पुष्टि गर्न पेश गरेका प्रमाणपत्रमध्ये एक प्रमाणपत्र नक्कली रहेको अनुसन्धानबाट खुलेको हो। नक्कली प्रमाणपत्रलाई सक्कलीसरह प्रयोग गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा यादवविरुद्ध भ्रष्टाचारसम्बन्धी कानुनी कारबाही अघि बढाइएको अख्तियारले जनाएको छ।
अख्तियारले अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यका आधारमा यादवले झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा नियुक्ति तथा लाभ लिएको ठहर गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
मुद्दामा अख्तियारले प्रचलित भ्रष्टाचार निवारणसम्बन्धी कानुनबमोजिम आवश्यक सजाय तथा अन्य कानुनी कारबाहीको माग गरेको जनाएको छ।

