चन्द्रपुरमा राष्ट्रिय सहकारी दिवस भव्य रूपमा सम्पन्न

चन्द्रपुर, २० चैत । “मर्यादित सहकारी, समुन्नत समाज” भन्ने मूल नाराका साथ चन्द्रपुरमा विविध कार्यक्रमसहित राष्ट्रिय सहकारी दिवस हर्षो हुल्लासका साथ सम्पन्न भएको छ। चन्द्रपुर नगरपालिका सहकारी शाखाको संयोजनमा रौतहट बचत तथा ऋण सहकारी संघ तथा अन्य सहकारी संस्थाहरूको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको सुरुआत चन्द्रपुर नगरपालिकाको प्राङ्गणबाट प्रभातफेरी र्‍याली निकालेर गरिएको थियो। ब्यानर तथा प्लेकार्डसहितको यो र्‍याली चन्द्रनिगाहपुरस्थित होटल एन प्लाजाको सभाहलमा पुगेर औपचारिक समारोहमा परिणत भएको थियो।

दिवसमा नगरपालिकामा आबद्ध विभिन्न सहकारी संस्थाहरूको सहभागिता रहेको थियो। सहकारी गान तथा सांस्कृतिक नृत्य प्रस्तुत गर्दै दिवसको उल्लास बढाइएको थियो। यस अवसरमा उत्कृष्ट सहकारी संस्था तथा व्यवस्थापकहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो।

मधेश प्रदेश सभा सदस्य युवराज भट्टराईले दिवसको उद्घाटन गर्दै सहकारी क्षेत्रलाई तीन खम्बे अर्थतन्त्रको अभिन्न हिस्सा भएको बताउनुभयो। उहाँले रौतहट जिल्लामा सहकारी अभियानको नेतृत्व चन्द्रपुरले गरिरहेको उल्लेख गर्दै सहकारीको मर्यादित र व्यवस्थित सञ्चालन आवश्यक रहेकोमा जोड दिनुभयो।

स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बाल समूहले सांगीतिक प्रस्तुति दिँदा कार्यक्रममा विशेष आकर्षण थपिएको थियो। यसै अवसरमा रौतहट बचत तथा ऋण सहकारी संघका अध्यक्षले सहकारी सिद्धान्त अनुरूप नचलेका कारण उत्पन्न समस्याहरूप्रति चिन्ता व्यक्त गर्दै योजनाबद्ध लगानी आवश्यक रहेको बताए।

कार्यक्रममा बोल्दै रौतहट बचत तथा ऋण सहकारी संघका पूर्व अध्यक्ष देवकी नेपालले इतिहासमा चन्द्रपुरले सहकारी प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्। उनले सहकारी सञ्चालनका क्रममा लक्ष्य र उद्देश्य स्पष्ट हुनुपर्ने आवश्यकता औंल्याइन्।

चन्द्रपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष निलहरी कोइराला, स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नरेन्द्र रानामगर, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जय कार्की लगायतका वक्ताहरूले दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका थिए।

कार्यक्रम चन्द्रपुर नगरपालिका वडा नं. ६ का अध्यक्ष सहदेव केसीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रम सञ्चालन बिन्दबासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक जनार्दन कोइरालाले गरेका थिए भने स्वागत मन्तव्य चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुख नसरे आलमले राखेका थिए।

 

ताजा समाचार

Related Articles