चन्द्रपुरमा अवैध आतसबाजीसहित एक जना पक्राउ

चन्द्रपुर,२१ असार । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकामा प्रतिबन्धित आतसबाजी पड्काएर नागरिकमा त्रास सृजना गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईका अनुसार शुक्रबार राती करिब १० बजे  चन्द्रपुर नगर क्षेत्रको एक विवाह समारोहका क्रममा सार्वजनिक स्थानमा अवैध रूपमा आतसबाजी पड्काइएको सूचना प्राप्त भएको थियो। घटनास्थलमा तत्काल प्रहरी परिचालन गरी एक जनालाई आतसबाजीसहित नियन्त्रणमा लिइएको डिएसपी राइले जानकारी दिए।

उनका अनुसार, यस्ता क्रियाकलाप कानून विपरीत छन् र यसले नगरवासीमा अनावश्यक त्रास फैलाउने भएकाले कडा निगरानी तथा कारबाहीको प्रक्रिया अघि बढाइएको छ।

नगर क्षेत्र, बजार तथा चोकहरूमा विगत केही समयदेखि विभिन्न कार्यक्रमको अवसरमा आतसबाजी पड्काइने गरेको पाइएको थियो। स्थानीय नागरिकहरूले यसप्रति गुनासो व्यक्त गर्दै आएका थिए। प्रहरी प्रशासनले यसअघि नै यस्ता कार्यहरूमा प्रतिबन्ध लगाइसकेको भए पनि उल्लंघन भइरहेका छन्।

प्रहरीले यस्तो गैरकानुनी कार्य नगर्न र नगराउन सम्पूर्ण नगरवासी, व्यवसायी तथा आयोजकहरूलाई सूचित गरेको छ। यस्ता गतिविधिमा संलग्न पाइएमा कडा कानुनी कारबाही हुने चेतावनीसमेत प्रहरीले दिएको छ।

डिएसपी राईले भने, “सार्वजनिक सुरक्षा र शान्तिको विषयमा कुनै पनि प्रकारको सम्झौता हुँदैन। नागरिक त्रसित हुने गरी गरिने कुनै पनि क्रियाकलापप्रति प्रहरी गम्भीर छ।”

प्रहरी प्रशासनले चन्द्रपुर क्षेत्रको सुरक्षा सुनिश्चित गर्नका लागि निगरानी थप कडा बनाइएको जानकारी दिएको छ।

ताजा समाचार

Related Articles